चट्याङ (LIGHTENING)

When thunders roar, go indoor. 

सानो छदाँ आकाश गर्जनासाथ कुद्दै ममिको काखमा लुटपुटिन पुगिन्थ्यो। घरबाट टाढा भएको बेला दुई हात जोडी छातीमा टसाउदै कुक्रुकिएर बसिन्थ्यो। र कहिलेकाही त चिरिदै 'ममी' भन्दै भागीन्थ्यो। कहिलेकाही त चट्याङको आवाज नआएको तर प्रकाश मात्र देखिएका बेला 'उ आकाशले हाम्रो फोटो खिच्यो' भन्दै मख्ख परि अनेकौ पोज  दिइन्थ्यो। आकाश चड्किएपछी लगत्तै पानी पर्यो भने 'दाइको रुमाल भाउजुलाई मन पर्यो ' भन्दै गुनगुनाउदै रुजिरुजी नाचिन्थ्यो। बाबाममिको नजरमा लुकिलुकी भएपनि सिमसिम पानीको खुब मजा लिइन्थ्यो। असिना पर्दा टिपेर कस्ले लामो समयसम्म मुखमा राख्ने कम्पिटिसन गरिन्थ्यो। पोलेको बेलामा लगाउने भन्दै बट्टामा जम्मा गरिन्थ्यो। शैशबकालका ति अमुल्य क्षणहरु सम्झिदा आज पनि मुहारमा million dollars वाला मुस्कान आउँछ, वाह क्या बाल्यकाल थियो। समय बित्दै जाँदा डर, लाज, रहर, लोभ, घृणाजस्ता इमोसन्सहरु आँफै आउँदा रहेछन। थोरै अक्कल पनि पस्न थालेछ क्यारे कुराहरु पनि बुझ्ने भइएछ,सोच्न थालिएछ, मनन गर्ने भइएछ। ९, १० पढ्दाको कुरा हो समाचारमा सुनेको थिए ''तनहुँमा चट्याङका कारण  घरभित्र सुतिरहेका   दुई जनाको मृत्यु।' आज सम्झिदाँ त्यही सुनेजस्तो लाग्छ, तर  मैले गलत सुने, मैले गलत बुझे, समाचार नै गलत सम्प्रेसण भयो या साच्ँची नै त्यस्तै घटना घटेको थियो म ठम्म्याईका साथ भन्न सक्दिन। जे होस्, त्यतिबेला यती नै बुझे कि चट्याङ त घरभित्रै छिरेर मान्छे मार्दो रहेछ। करिब ३०० मिटर पर खेतमा एउटा सुकेको रुख थियो, सबैजना भन्थे त्यो रुखमा चट्याङ परेको थियो। जगंल जाँदा सुकेको रुख देखाएर पनि त्यही भन्नुहुन्थ्यो। त्यसपछि त प्रत्येक पटक आकाश चड्कन लागेपछि म भयवित हुन्थे कतै यो चट्याङ् झरेर मैमाथी पो पर्ने हो कि। आज आएर बुझ्दै छु गलत बुजेर म आनायसै डराईरहेको रहेछु। ठुलो भईसक्दासम्म पनि डराउँथे|  M.B.B.S. तेस्रो बर्षमा आएर फरेन्सिक मेडिसिन मा यस्को बारेमा पढ्न पाए  र बुझे कि घरबाट टाढा भएको बेला केही सतर्कताहरु अप्नाएमा डराउनुपर्ने केही हुँदो रहेनछ।


सामान्य भाषामा भन्नुपर्दा ठुलाठुला बादलहरु ठोक्किएपछी बातावरणमा पैदा हुने बिधुतिय प्रवाहलाई चट्याङ् भनिन्छ। यस्को क्षमता अद्भुत हुन्छ, अर्थात् करीबन ३०,००० डिग्रि सेल्सियसको तापक्रम र करीबन २ लाख २० हजार कि.मी. प्रती घण्टाको रफ्तारमा यो पृथिवितर्फ आउँछ र जमिनको धेरै गहिराईसम्म पुग्नसक्छ। तसर्थ,यसको हानिकारक क्षमता अत्यन्त घातक मानिन्छ।    तर, यसो भन्दैमा डराउनुपर्ने कुरा केही छैन। सकेसम्म बाहिर निस्किदा मौसमको बिचार गरेर हिंड्ने, चट्याङ् परेको बेला घरबाहिर खासगरी खुल्ला मैदानमा हुनुहुन्छ भने, ध्यान दिनुहोस्, त्यहाँ हजुर नै सबभन्दा अग्लो बस्तु हुनुहुदैन। अग्ला पहाडहरुमा या अग्लो रुखहरुमा चड्नु हानिकारक हुनसक्छ। चौरमा  हात उठाएर,   केही कुरा उचालेर या लामो लठ्ठीहरु समाएर हिंड्नुहुदैन। किनकि बिधुतीय   प्रवाहका लागि + र – विन्दु चाहिने हुदाँ – चार्ज गर्हुन्गो भई तल आउने क्रममा अग्लो वस्तुलाई नै आफ्नो निशाना बनाइदिन्छ|  त्यस्तै कुनै अग्लो रुखमुनि आरक्षण नलिनुहोला किनकि रुखबाट नै विधुतको फ्लो हुनसक्छ अथवा रुखबाट हाँगाँबिगाँ भाँचिएर तपाईँलाई लाग्नसक्छ| त्यस्तै, धातुचुम्बकले करेन्ट तान्न सक्ने भएकाले यदि पानीको पाइप धातु (जस्तै फलाम) ले बनेको खण्डमा पानी प्रयोग गर्नु, लुगा धुनु, नुहाउनु उचित हुदैँन| सिधै पावर सकेटमा जोडेर चलाइने विधुतिय सामाग्री जस्तो कि टलिभिजन, हिटर, राइस् कुकर, आदि नचलाउनु उचित हुन्छ ।ट्वाइलेटको कनेक्सन सिधै जमिनसगँ हुनेभएकाले केहि मात्रामा भएपनि खतरा मानिन्छ| तारवाला टेलिफोन (लेन्डलाईन) र चार्जमा राखिएको सेल फोन पनि सुरक्षित नहुनसक्छ।अर्को छुटाउन नहुने कुरा के छ भने यदि खुल्ला चौरमा हुनुहुन्छ र करेन्ट लागेजस्तो अनुभव भयो जस्तो कि शरिरबाट लुगा तान्दा टासिएजस्तो हुनु जसलाई घस्रणबाट पैदा हुने स्टाटिक ईलेक्ट्रिसिटी भनिन्छ, अथवा काउकुती लागेजस्तो या रौँहरु ठाडो भएजस्तो लाग्नु भनेको खतराको सँकेत हो र यसो भएमा तुरुन्त भुईँमा पल्टिनुपर्छ। यस्तो करेन्ट लागेजस्तो अनुभूति नभएमा चाहिँ फटाफट हिंडेर सुरक्षित गन्तव्यतिर नै लाग्नुस्। त्यसैगरि बन्द गरिएको कार, बस, जीपभित्र पनि बस्नु सुरक्षित हुन्छ । र अन्तिमपटक आकाश गर्जिएको ३० मिनेट कुरेर मात्र घरबाहिर, खासगरि खुल्ला चौरतिर निस्किनु ठीक हुन्छ। अनि चट्याङ परिरहदा घरभित्र पनि झ्याल खोलेर  झ्यालमा बसेर मजा लिने काम पनि नगरौँ।


अन्ततः हुन त चट्याङ  हाम्रो समाजमा विनाशकारी प्रकोप त होईन तर पनि हामीमा कताकता नजानिदोँ डर लुक्ने भएकाले यसबारे केहि ज्ञान राख्दा र सतर्कता अपनाइरहदाँ उचित नै रहला तर घरभित्र भएको अवस्थामा चाहिँ धेरै नडराअौं किनकि हामी सबैभन्दा सुरक्षित ठाउँमा नै छौँ।

Comments

Popular posts from this blog